खोलामा डुबेर दुई बालकको मृत्यु

इटहरीको जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

टोलीले तत्काल उद्धार गर्दै खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्‍याएको खतिवडाले जानकारी दिए ।

अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।