दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर आँक्ने भए पनि वास्तविकता फरक रहेको

काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेनले नेपाली क्रिकेट टिमको नाम सुन्नासाथ धेरैलाई ‘वाकओभर’ पाएजस्तो महसुस भएको हुने भए पनि खेल्न कठिन रहेको बताएका छन् ।

नेपालले सोमबार युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा ९० रनको जित निकाल्दै तीन खेलको शृंखला अन्तिम खेलअगावै जितेको थियो । यसअघि, नेपालले पहिलो खेलमा दुई पटकको विश्वकप विजेताविरुद्ध १९ रनको जित निकालेको थियो ।

लगातार दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर आँक्ने भए पनि वास्तविकता फरक रहेको जनाए ।

“उनीहरू पछिल्लो चार वर्षदेखि एकसाथ खेलिरहेका छन् । उनीहरूले एक–अर्कालाई राम्रोसँग बुझेका छन् । धेरैले नेपाललाई कमजोर टिम मान्छन् । तर, यस्तो टिमविरुद्ध खेल्न आउँदा सधैँ उत्कृष्ट खेल्न सक्नुपर्छ,” हुसेनले भने, “नेपालको नाम सुन्नासाथ धेरैलाई वाकओभर पाएको जस्तै महसुस हुन्छ । तर, यहाँ नाम र विगतका नतिजाले फरक पार्दैन । यहाँ टिमले के गर्छ र कसरी खेलको स्थितिलाई बुझ्छ भन्ने कुराले अर्थ राख्छ ।”