सार्वजनिक यातायात बन्द

गण्डकी सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग राखेर प्रदेशभर सार्वजनिक यातायात बन्द भएको छ।

नेपाल यातायात व्यवसायी महासंघको आह्वानमा शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक सेवाका लागि चल्ने लामो तथा छोटो दुरीका सवारी साधन, ट्याक्सी र ढुवानी सेवा ठप्प पारिएको महासंघका सचिव योगेन्द्र केसीले जानकारी दिए।

निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पांग्रे सवारी साधनलाई पनि यात्रु ओसारपसार गर्न दिएको भन्दै आन्दोलनमा उत्रनुपरेको केसीले बताए।

‘निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले पनि यात्रु ओसारपसार गर्न कुराको विरुद्ध हामीले आन्दोलन गरेका हौं,’ उनले भने, ‘राइड सेयरिङ नियमावली खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’