वीरगञ्ज । देशको प्रमुख व्यापारिक केन्द्र तथा पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पछिल्लो समय शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।
मङ्गलवार दिउँसो वीरगञ्जको व्यस्त घण्टाघर चोकमा एक वृद्धको नगद रकम लुटिएको र सोही दिन पत्रकारको मोटरसाइकल चोरी भएको घटनाले सहरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । घटनाहरूले स्थानीय बासिन्दा र व्यापारीहरूमा त्रासको वातावरण सिर्जना गरेको छ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–३, कटेया देउरबाना निवासी ६० वर्षीय जोगिन्द्र राउत कुर्मी मङ्गलवार वीरगञ्जमा लुटपाटको सिकार भएका हुन् । राजश्री बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न एक लाख ४० हजार रुपैयाँ बोकेर वीरगञ्ज आए कुर्मीलाई सहकारीमा कर्मचारी नभेटिएपछि उनी मालपोत कार्यालयमा पुगेका थिए ।मालपोत कार्यालयमा आफ्नो काम सकिएर फर्किने क्रममा घण्टाघर चोकमा रिक्साबाट ओर्लने बेला अज्ञात समूहले उनको झोलाबाट नगद लुटेर भागेको उनले बताएका छन् ।