तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति  साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ।