(महेन्द्र सिंह ) जिल्ला प्रहरी कार्यालय बाँकेले फाल्गुनपुर्णिमा अर्थात होली पर्वलाई मर्यादित,सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।
होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको हो ।
बाँके जिल्ला प्रहरीले सूचना जारी गर्दै आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं, भाँग, गाँजा, वा कुनै किसिमको नसालु पदार्थ सेवन नगरौं, होली पर्वको नाममा जाँड रक्सीको सेवन गरी उच्छृङ्खल क्रियाकलापहरु नगरौं ,असभ्य र अश्लिल होलीका गीतहरु नबजाऔं, ध्वनि प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माइक आदिको प्रयोग नगरौं ।होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्र. उ . तुल बहादुर कार्किले बताए ।इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने उनले बताए ।