(नेपाल क्राईम) विकाससँगै संगीत क्षेत्रमा पनि बदलाव आयो। बिक्रम सम्वत् ५० र ६० को दशकमाजस्तो सिडी–क्यासेट बोकेर हिँड्ने चलन लोप नै भयो। गीतहरू डिजिटल प्लेटफर्ममा सार्वजनिक हुन थाले।
युट्युबसहित नयाँ–नयाँ प्लेटफर्ममा अद्यावधिक हुनेको आम्दानी बढ्दै गइरहेको छ। नेपाली कला क्षेत्रमा त्यस्ता थुप्रै कलाकार छन्, जो अहिले युट्युबबाट मात्र नभई अन्य डिजिटल प्लेटफर्मबाट पनि राम्रो आम्दानी गर्छन्।
यो कथा त्यसरी आम्दानी गर्ने कुनै कलाकारको भने होइन।
एक जना यस्ता प्रविधि विज्ञको कथा हो, जो कलाकारहरूलाई यस्ता डिजिटल प्लेटफर्मबाट आम्दानी गर्न सघाउँछन्। कतिपयका त उनी पथप्रदर्शक नै हुन् भन्दा फरक पर्दैन।
उनकै सल्लाह–सुझाव अनुसार चल्दा कतिपय कलाकारको आम्दानीले गुणात्मक फड्को मारेको छ। आर्थिक रूपमा सबल बनेका छन्। सफलताले लय समातिरहेको छ।
राजेन्द्र अर्याल।
राजेन्द्र खासगरी संगीत क्षेत्रका कलाकारको सामाजिक सञ्जाल (सोसल मिडिया) सल्लाहकारका रूपमा काम गर्छन्। त्यसमा पनि युट्युब च्यानल र अडिओ प्लेटफर्म व्यवस्थापन गर्न सघाउनु उनको मुख्य काम हो।
कतिपयले गीत वा म्युजिक भिडिओको आम्दानीको मुख्य स्रोत युट्युब मात्र होला भनेर बुझ्न सक्छन्। तर अडिओ मात्रै राखेर आम्दानी गर्न सकिने प्लेटफर्महरू थुप्रै छन्। स्पटिफाई, युट्युब म्युजिक, अमेजन, आइट्युन्स जस्ता प्लेटफर्मबाट पनि कलाकारले कमाइ गर्न सक्छन्। टिकटक, फेसबुकले पनि सर्जकको खातामा आम्दानी पठाइराखेकै हुन्छन्।
कलाकारलाई आफ्नो सिर्जना कुन कुन डिजिटल प्लेटफर्ममा राख्दा राम्रो हुन्छ, त्यहाँसम्म पुर्याउने प्रक्रिया के हो, त्यसबाट आम्दानीको दायरा कसरी बढाउन सकिन्छ भन्ने जस्ता कुरामा अलमल हुन सक्छ। यस्तै काममा राजेन्द्रले बाटो देखाउने काम गरिरहेका छन्।
‘कतिपय अवस्थामा युट्युबको ड्यासबोर्ड बनाउने, त्यसको व्यवस्थापन तथा सुरक्षा गरिदिने, करको फारम भर्न, आम्दानीको रकम निकाल्न सहयोग गरिदिन्छु,’ उनले भने।
एउटा सजर्कको गीत अरू कसैले अपलोड गर्यो वा कभर भिडिओ बनायो भने त्यसको आन्दानी समेत फर्काएर ल्याउन उनले सहयोगीको भूमिका खेलिदिन्छन्। जसले गर्दा कसैको रचनाको अनधिकृत आम्दानी अर्कोको खातामा पुग्न पाउँदैन।
यसबाहेक कपीराइट ‘स्ट्राइक’ गर्न, कानुनी कुरामा सल्लाह दिएर कागजात तयार पार्न, रचनाहरूलाई डिजिटल आर्काइभ गर्न पनि सघाउँछन्। कसैलाई त्यस्तो सेवा चाहिए परामर्श पनि दिन्छन्।
पछिल्लो समय कलाकारको युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक भएका खबर सुनिन्छन्। ह्याकरले खाता आफ्नो वशमा लिएर अवाञ्चित सामग्री हालिदिन्छन्। यस्तो समस्या आउन नदिने र आइहाले समाधान गरिदिने ‘सुरक्षाकर्मी’ पनि हुन् राजेन्द्र।
उसो त यस्ता कुरामा कलाकारहरू स्वयं पनि जानकार हुन सक्छन्। तर यस्ता कुराको हैरानी र बोझ धेरै बोक्दा उनीहरूको सिर्जनात्मकतामा ह्रास आउन सक्छ।
‘मकहाँ आउने कतिपय कलाकारहरू यसै भन्नुहुन्छ। अनेक व्यवस्थापन र प्राविधिक पाटो आफै हेर्दा सिर्जना शक्ति घट्दो रहेछ, यसका लागि तपाईंजस्तै प्राविधिक पाटोमा सघाउने मानिस चाहिँदो रहेछ भन्नुहुन्छ,’ राजेन्द्रले भने।
राजेन्द्र अहिले प्रकाश सपूत, बद्री पंगेनी, खेम सेञ्चुरीदेखि, शान्तिश्री परियार, समीक्षा अधिकारी लगायत कलाकारका प्राविधिक सल्लाहकारका रूपमा काम गरिरहेका छन्। उनी आफूले व्यवस्थापन गरिरहेका युट्युब च्यानल, सामाजिक सञ्जालका एकाउन्ट लगायतको सुरक्षाप्रति हरबखत चनाखो रहन्छन्। त्यस्तै त्यसबाट आम्दानी र स्रोता–दर्शक कसरी बढाउने भनेर पनि काम गर्छन्।
यसरी कलाकारहरूलाई पैसा कमाउन सघाइरहेका राजेन्द्र ‘पर्दा पछाडिका हिरो’ मानिन्छन्। अंग्रेजीमा स्नातकोत्तर गरेका उनी माइक्रोसफ्ट सर्टिफाइड प्रोफेसनल हुन्।
‘सालको पातको टपरी’, ‘बोल माया’ देखि ‘अरेली काँडैले’, ‘कश्मिरे पछ्यौरी’ हुँदै ‘ढलेँ ढलेँ’ सम्मका दर्जनौं गीतमा उनी प्राविधिक सल्लाहकारका रूपमा जोडिएका छन्। यी गीतलाई करोडौं स्रोता–दर्शकसम्म पुर्याउन उनको भूमिका छुटाउन मिल्दैन।
सूचना–प्रविधिको बाटोमा सर्जकहरूको सारथि बनिरहेका राजेन्द्रले यो काम गरौंला भनेर चाहिँ कहिल्यै सोचेका थिएनन्।
उनी पश्चिमी सिन्धुपाल्चोकको थकनीमा जन्मिएका हुन्। उनको गाउँ सानो मुसुरेबाट काठमाडौंतर्फ पाइला सोझ्याएकाहरू कि सेनामा भर्ती हुन्थे, कि होटल तथा औषधिको थोक बिक्रीतिर काम गर्थे।
उनले सोचेका थिए — मेरो पनि बाटो त्यतै हो। मैले पनि त्यसमै भविष्य खोज्नुपर्छ।(रास्स)