सामाजिक संजालमा जथाभावी पोष्ट गर्ने सशस्त्र प्रहरीका १६६ जना कारवाहीमा

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो दुई वर्षको अवधिमा सामाजिक सञ्जालमा संगठनको पोशाकमा विभिन्न गतिविधि सार्वजनिक गर्ने कार्यमा संलग्न १६६ जना कर्मचारीलाई विभागीय कारवाही गरेको छ।

संगठनको नीति, निर्देशन र अनुशासन विपरीत व्यक्तिगत सामाजिक सञ्जालमार्फत पोशाकमा तस्बिर तथा भिडियो सार्वजनिक गरेका सशस्त्र प्रहरी नायब निरीक्षकदेखि जवान र परिचर तहका कर्मचारीहरू कारवाहीमा परेका हुन्।

सशस्त्र प्रहरी बलका अनुसार ती कर्मचारीहरूले फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायत सामाजिक सञ्जाल प्रयोग गरी संगठनको पोशाकमा तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए।

कारवाहीमा परेकामध्ये १२ जना नायब निरीक्षक, ६ जना सहायक निरीक्षक, ९ जना वरिष्ठ हवल्दार, ५ जना हवल्दार, १० जना सहायक हवल्दार, १२१ जना जवान र ३ जना परिचर रहेका छन्।

उनीहरूलाई नसीहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण तथा मौखिक सम्झाइबुझाइ गरिएकाे जनाइएको छ। कारवाहीमा परेका मध्ये ११८ जनालाई नसीहत मात्र दिइएको छ।