सुदूरपश्चिमका दुई मन्त्रीका गाडी दुर्घटना

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ । मन्त्रीका चालकले बाटोमा उभिएका व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि पछाडिको गाडी ठोक्किएको हो ।भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी र कानुनमन्त्री हीरा सार्की चढेको गाडी लम्कीमा ठोक्किएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि भौतिक पूर्वाधार मन्त्रालयको से. १ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए । त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो ।