सशस्त्र प्रहरी बल नेपाल र तस्कर समूहबीच झडप

धनुषाको विदेह नगरपालिका–२ स्थित दुहवीमा सशस्त्र प्रहरी बल नेपाल र तस्कर समूहबीच झडप भएको छ। साँझ करिब सवा ८ बजेको समयमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले अवैध तस्करी नियन्त्रणमा लिन खोज्दा तस्कर समूह र स्थानीयवासीले ढुंगामुढा प्रहार गरेका थिए।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। झडपका क्रममा केही तस्करीका सामान स्थानीयले लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान प्रहरीले बरामद गरेको छ।