प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो ।

हाल केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख रहेका एआईजी खापुङले महानिरीक्षक दिपक थापालाई बिदाईगर्दै भदौं १९ बाट प्रहरी नेपाल प्रहरीको ३२ औं महानिरीक्षक बनेर कमाण्ड लिनेछन् ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षक भएर २७ कार्तिक २०५२ मा सेवा प्रवेश गरेका खापुङले विद्यमान कानून परिवर्तन नभएमा आउँदाे २६ कार्तिककाे मध्यरातसम्म प्रहरीकाे कमाण्ड सम्हाल्ने छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी इतिहासमा धेरैपछि प्रहरी नेतृत्व निमित्तका भरमा छाडेर महानिरीक्षक बिदाई हुने परिपाटीको अन्त्यगर्दे हालका महानिरीक्षकका लागि सहज र सौहार्द वातावरण बनाईदिएको छ ।

प्रधानमन्त्री ओली भोलीदेखि चीनको भ्रमणमा जाने भएकाले शुक्रबार नै महानिरीक्षकको टुङगो लागेको हो ।