काठमाडौंको माछापोखरीमा मध्यरातमा गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । माछापोखरीमा रहेको राजधानी रोधीघरमा पुगेका उनीहरूले युवतीमाथि अश्लील हर्कत देखाउनुका साथै धारिलो हतियार प्रदर्शन गरी धाकधम्की दिएका थिए । पीडितले प्रहरीलाई बताए अनुसार उनीहरूले त्यहाँ कार्यरत युवतीमाथि हातपातको प्रयास समेत गरेका थिए । घटना मंगलबार मध्यराति १२ :४० बजेतिरको हो । चार जनाको समूह होहल्ला गर्दै पुगेर अभद्र व्यवहार गरेपछि प्रहरी बोलाइएको थियो । घटनाबारे खबर पुग्नेबित्तिकै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चारै जनालाई रोधीघरको बाहिरबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ सूर्यदर्शन हाइट बस्ने ३७ वर्षीय दीपक कार्की, नुवाकोटको ककनी गाउँपालिका-५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्ने निरज गुरुङ, टोखा सरस्वती टोल बस्ने २८ वर्षीय रोशन डंगोल र टोखा गणेशस्थान बस्ने २४ वर्षीय रोहन डंगोल रहेका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।