ट्राफिक नियम उल्लङ्घन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन्। ट्राफिक नियम उल्लङ्घन गर्दा कतिपय विषयमा जरिवाना मात्रै तिराए पनि केहीमा भने अनिवार्य कक्षामा सहभागी हुनु पर्ने व्यवस्था छ। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन, रातो बत्तीको उल्लङ्घन, तिब्रगतिमा अनिवार्य कक्षा लिनु पर्ने व्यवस्था छ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउन त्यसमा द्रुत विकास भइरहेको जानकारी दिए । ‘अस्थायी प्रहरी चौकीको माग, अस्थायीलाई स्थायी र प्रहरी चौकी स्तरोन्नति/स्थापनाको बढी माग छ,’ उनले भने, ‘नागरिकको प्रहरीप्रति विश्वास र आस्था बढेको छ ।’