एसएसपी कँडेलमाथि कारबाही नहुने

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा असारको दोस्रो साता भएको ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ मा ‘आर्थिक चलखेलकै कारण योग्य र इमानदार अधिकृत सरुवा/बढुवामा पछि पर्ने गरेको र नेतृत्व तहले यसलाई गम्भीररुपमा नलिएको’ आरोप लगाएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण कँडेललाई कारबाही नहुने भएको छ ।

गत असार ११ र १२ गते भएको वरिष्ठ अधिकृत सम्मेलनमा उनले ‘योग्य र इमानदार अधिकृतको सशस्त्र प्रहरीमा कुनै भविष्य नरहेको र जाली कुरा गर्नेहरूको बोलवाला रहेको’ बताएका थिए ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षक (आईजीपी) को सहभागिता रहेको सो कार्यक्रममा एसएसपी कँडेलले विषयवस्तुभन्दा बाहिर गएर बोलेको भन्दै उनलाई कारबाही गर्नुपर्ने मत बलियो थियो । सम्मेलनको मुख्य विषय सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायत भएपनि अनावश्यक विषयवस्तु उठान गरेको भन्दै उनलाई कारबाही गर्न सशस्त्रको नेतृत्वमाथि पनि दबाब बढाइएको थियो । सशस्त्र मुख्यालयले एसएसपी कँडेललाई विषयवस्तुभन्दा बाहिर गएर किन अनावश्यक कुरा गरेको र त्यस विषयमा प्रमाण  पेस गर्न उनलाई पहिलो पत्र थमाएको थियो । तर सो पत्रको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई नसियत दिन लागिएको थियो । तर एसएसपी कँडेलले दोस्रो पत्र बुझ्नै मानेनन् र बिदा बसे । लामो समय बिदा बसेका कँडेल आइतबार भने आफू कार्यरत प्रशासन विभाग हाजिर भएका छन् । (रास्स)