मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित ३ जना पक्राउ परेका छन् ।जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्त कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया)मार्फत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । उक्त उजुरीका आधारमा खटिएको आयोगको टोलीले खरिदार पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।