अबदेखि प्रशासनको पूर्व–अनुमति बिना कुनै पनि प्रदर्शन, जुलुस, र्याली वा सार्वजनिक कार्यक्रम गर्न नपाइने:  जिल्ला प्रशासन कार्यालय बाँके

अबदेखि प्रशासनको पूर्व–अनुमति बिना कुनै पनि प्रदर्शन, जुलुस, र्याली वा सार्वजनिक कार्यक्रम गर्न नपाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँके प्रशासनले बिहीबार एक सूचना जारी गर्दै कार्यालयको स्वीकृति वा अनुमति नलिई कुनै पनि किसिमका विरोध कार्यक्रम, सभा, जुलुस वा प्रदर्शन गरिएको पाइएमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजक स्वयंले लिनु पर्ने चेतावनी दिएको छ।

उक्त सूचना प्रशासकीय अधिकृत विष्णु साहनीको हस्ताक्षरमा जारी गरिएको हो। सूचनामा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयबाट पूर्व–स्वीकृति नलिई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम नगर्न नगराउन सबैमा अनुरोध गरिन्छ।”

प्रशासकीय अधिकृत साहनीका अनुसार हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षीय बैठकको निर्णयअनुसार यस्तो कदम चालिएको हो। उनले बिना अनुमति प्रदर्शन वा जुलुस आयोजना गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही हुने पनि चेतावनी दिएका छन्।

यसैबीच, गत शुक्रबार नेपालगन्जको फुलटेक्रा क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको क्रममा फोहोर फाल्ने घटनालाई लिएर उत्पन्न विवाद दुबै पक्षबीच सहमति र मिलापत्रमार्फत समाधान भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।