१० करोडको भेप तस्करी

वन कर्मचारीहरूको अनुमति प्राप्त जडीबुटी राखिएको भनिएको ट्रकमा १० करोड रुपियाँ बराबरको अवैध भेप(विद्युतीय चुरोट) फेला परेपछि ती वन कर्मचारीहरू नै छानबिनको घेरामा परेका छन् । भेप तस्करी प्रकरणमा डिभिजन वन कार्यालय हुम्लाका निमित्त प्रमुख लोकजंग शाहीलगायत वनका अन्य कर्मचारीहरूसमेत संलग्न रहेको हुन सक्ने आशंकामा उनीहरूमाथि समेत छानबिन हुने भएको हो ।

राजस्व अनुसन्धान विभागले भन्सार बिन्दुबाट आपूर्ति गर्ने र ट्रक पक्राउ पर्दासम्मको अवस्थामा संलग्न सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याएर छानबिन अघि बढाएको छ । भेप तस्करीको जालो माथिल्लो तहसम्मै फैलिएको हुन सक्ने भएकाले उच्चपदस्थ केही व्यक्तिहरू पनि छानबिनको दायरामा आउनसक्ने देखिएको छ ।

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले केही दिन अघिमात्रै जडीबुटी सेतक चिनीका नाममा डिभिजन वन कार्यालय हुम्लाले छुट पुर्जी दिएको ट्रक दैलेखको खिड्कीज्युलाबाट नियन्त्रणमा लिएपछि सो ट्रकमा जडीबुटीमात्रै नभएर ठूलो मात्रामा भेप रहेको फेला परेको हो ।(रासस)