दुई वर्षअघि चोरी मुद्दामा पक्राउ परेका व्यक्ति नै प्रहरीको हतियार लुटपाटमा संलग्न

दुई वर्षअघि चोरी मुद्दामा पक्राउ परेका व्यक्ति नै प्रहरीको हतियार लुटपाटमा संलग्न रहेको खुलेको छ । कास्की प्रहरीले गत भदौ २४ गतेको आन्दोलनको क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ बस्ने ३१ वर्षका श्यामबहादुर तामाङ र पोखरा–२ बस्ने २२ वर्षका सागर राउत रहेका छन् ।

यीमध्ये तामाङ दुई वर्षअघि चोरी मुद्दामा समेत परेको प्रहरीको अभिलेखमा उल्लेख छ । उनीहरूको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग, काठको बटको भाग र दुई थान मोबाइल बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।