गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।शुक्रवार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उनले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने भन्दै उनले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिए ।
सडक दुर्घटना, लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ’, उनले भने, ‘प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।’
उनले गुण्डागर्दी र बिचौलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिए ।त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथै विपद् व्यवस्थापनमा समेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोत साधनका बीच पनि उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताए ।