सहसचिवसहित ९ जना कर्मचारी सरुवा

९ जना कर्मचारीलाई गृह मन्त्रालयले सरुवा गरेको छ। अध्यागमन विभागमा देखिएको अनियमिततासँग सम्बन्धित अनुसन्धानको क्रममा मन्त्रालयले उच्च तहका कर्मचारीहरू समेतको सरुवा गरेको हो।

सरुवा सूची अनुसार नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ भने नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँके पठाइएको छ।

त्यस्तै, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठसहित उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग अन्तर्गत विभिन्न स्थानमा सरुवा गरिएको छ।

गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। उनलाई नियन्त्रणमा लिनुअघि गृहमन्त्री रमेश लेखकले भट्टराईलाई सरुवा गर्दै मन्त्रालय तानेका थिए।