गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण र सेवनले समाजमा गम्भीर चुनौती खडा गरेको बताउँदै यसविरुद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । शुक्रवार लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताए ।निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ब्युरोका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै त्यहाँका गतिविधिबारे जानकारी लिए ।नेपाल प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको महाअभियान र सचेतनामूलक कार्यक्रमहरूले नियन्त्रण, रोकथाम र न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो । सीमित स्रोतसाधनका बावजुद ब्यूरोले गरेको कार्यको प्रशंसा गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा थप सक्रिय, लगनशील र प्रभावकारी ढङ्गले काम गर्न प्रहरीलाई निर्देशन दिए ।
ब्युरोको विकास र स्तरोन्नतिका लागि गृहमन्त्रालय सधैं क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका लागि राष्ट्रिय नीति, कानुन र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वयमा योजनाबद्ध रूपमा काम गरिरहेको बताए ।