कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए ।बैंकको हिनामिनामा उनको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । मिश्र सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारमा सिफारिस भएका थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो । तर, उनले निर्वाचन जित्न सकेनन् । अहिले त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन् । विष्टले २३ हजार ४६० मत ल्याएर विजयी हुँदा पशुपति दयाल मिश्र भने ११ हजार ६७५ मत प्राप्त गरेका थिए ।सञ्चालक समेतको मिलेमतोमा सो बैंकमा साढे दुई अर्ब घोटाला भएको थियो । हाल राष्ट्र बैंकको व्यवस्थापनमा सो बैंक सञ्चालन भइरहेको छ । सीआइबीले हिनामिनाका मुख्य योजनाकार रहेका बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पक्राउ गरिसकेको छ । सो बैंकको घोटालामा नेपाल राष्ट्र बैंकको सुपरीवक्षेणमाथि पनि प्रश्न उठेको छ । राष्ट्र बैंकले संस्थाको अवस्था राम्रो भनेर प्रतिवेदन बनाएकै अवस्थामा बैंक धरासायी भएको थियो । सिआइबीले सुपरीवेक्षणमा संलग्न राष्ट्र बैंकका अधिकारीमाथि पनि छानविनको तयारी गरेको छ ।(रास्स)