टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरे

काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ।

लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरूमाथि सोधपुछ गर्दा टोखास्थित ग्राण्डी अस्पताल पछाडि दुई जना खैरो हेरोइन बिक्री गर्न लागेको सूचना पाएको थियो।

उक्त सूचनापछि खोजी गर्दै जाँदा मंगलबार अपराह्न सवा ३ बजेतिर प्रहरी ग्राण्डी अस्पताल पछाडि पुगेको थियो। त्यहाँ स्पीकरभित्र लुकाएर राखेको दुई सय ग्राम खैरो हेरोइन बरामद भएको थियो।

त्यसपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन खोजेको एसएसपी कोइरालाले बताए। तर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि फलामको रडले आक्रमण भएको थियो।

‘प्रहरीमाथि रड प्रहार गरे, त्यसपछि प्रहरीले गोली चलाएको हो। सुरूमा हवाई फायर गर्दा पनि नभएपछि कारोबारीमाथि गोली प्रहार गर्नुपर्‍यो,’ उनले भने।