तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।
एक जनाको दाङको घोराहीमा र अर्की किशोरीको बाँकेको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
सल्यानको बागचौर नगरपालिका – ११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार बिहीबार राति सवा ९ बजे अचेत अवस्थामा फेला परेका थिए।
गम्भीर अवस्थाका दुवै जनाको उद्धार गरी प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएपछि उनीहरुले पहिचान हुन नसकेको बिषादी खाएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।
तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। घोराहीमा राति पौने १२ बजेतिर दिपु परियारलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घोराहीमा पनि उपचार सम्भव नभएपछि दिपालाई भने शुक्रबार बिहान साढे २ बजेतिर बाँकेस्थित नेपालगञ्ज नरसिङ होममा पुर्याइएको थियो। उनलाई पनि उपचार क्रममा बिहान पौने ४ बजेतिर चिकित्सकले मृत घोषणा गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार अनुसन्धानबाट दुवै कक्षा ११ मा अध्यनरत रहेको खुलेको छ।