८ वर्षीय बालकलाई प्रहरीले गर्‍यो उद्धार

धनकुटामा बारले घेरेर राखिएको ८ वर्षीय एक बालकको उद्धार गरेको छ।

छथरजोरपाटी गाउँपालिका वडा-५ परेवादिनस्थित गोठमा राख्दै आएको सुहाङ लिम्बूलाई प्रहरीले उद्धार गरेको हो।

उनलाई दुई महिनादेखि बाँसको टाटीले बारेर बनाइएको गोठमा बालकलाई राख्ने गरेको सूचना प्राप्त भएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

‘हामीले बाँसले बारेर बनाइएक गोठजस्तो संरचना भत्काइदिएका छौं,’ उनले भने, ‘बालकको मानसिक सन्तुलन ठीक नभएको भन्दै थुनेको पाइएको छ।’

तेह्रथुम फेदाप गाउँपालिका वडा-१ घर भएका सोमकुमार लिम्बू परिवारसहित ससुरालीमा बस्दै आएका छन्।

एक वर्षदेखि धनकुटामा बस्दै आएका दम्पतीका सुहाङ एक्ला छोरा हुन्। आर्थिक अवस्था न्यून भएका परिवारले छोरालाई एकजनाले छोड्ने नमिल्ने भएपछि गोठ बनाएको प्रहरीलाई बताएका छन्।