तन्त्रमन्त्रको आरोपमा चालककाे हत्या

सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन् । राजकिशोर साह (राजेश) र नन्दकिशोर साह दाजुभाई हुन् । उनीहरु नै घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।