झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बिहीबार बिहान ९:३० बजे विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना परेर सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरीको मृत्यु भएको छ।

घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन्। मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।