१ करोड १० लाख नगद र सुनसहित दुई जना पक्राउ

जिल्ला प्रहरी परिसरले स्रोत नखुलेको १ करोड १० लाख ७० हजार रुपैयाँ नगदसहित ठूलो परिमाणमा सुनजस्तो देखिने पहेँलो धातुका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक चिनियाँ नागरिक छन् ।प्रहरीले शनिवार राति ११:३० बजे नागार्जुन नगरपालिका-२, सानोभर्‍याङस्थित एक घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-२ घर भई हाल नागार्जुन-२ मा बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनको बेइजिङ घर भई हाल सोही ठाउँमा बस्दै आएका ३८ वर्षीय चिनियाँ नागरिक जियाओ यानहुई छन् । घटनास्थलबाट प्रहरीले १ करोड १० लाख ७० हजार रुपैयाँ नगद, सुनजस्तै देखिने झुम्का, बाला, औँठी, शिरबन्दीलगायतका गरगहना, ६ थान मोबाइल, एक थान एप्पल म्याकबुक प्रो, बीवाइडी कार, रोजिनाको नागरिकता, जियाओको राहदानी र विभिन्न बैङ्कका ४ थान चेकबुक बरामद गरेको छ ।(रास्स)