विमानस्थलले बन्द गर्‍यो ‘भिजिटर्स पास’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण गर्दै आएको ‘भिजिटर्स पास’ वितरण बन्द गरेको छ । कार्यालयले आज (मंगलबार)बाट ‘भिजिटर्स पास’ वितरण बन्द गरिएको जनाएको छ ।

“यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार मिति २०८२ साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर्स पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ,” कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्दा व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिकरूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरूका लागि सहायता कक्षको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।