मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबमा एक विशेष समारोहका बीच १३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गरे । उनले जनचेतनामूलक सूचनाहरू सम्प्रेषणमा एफएमको योगदानको प्रशंसा गर्दै विज्ञापनदाता तथा सूचना प्रदायकहरूलाई कदरपत्रद्वारा सम्मान गरे ।
त्यसैगरी, पूर्व प्रहरी उपरीक्षक एवं एफएमका पहिलो स्टेशन म्यानेजर पवन कुमार गिरी, दुई जना उत्कृष्ट ट्राफिक प्रहरी, तथा एफएमका चार जना कर्मचारीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरियो।
कार्यक्रममा बोल्दै एआईजी तामाङले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन, सामाजिक सद्भाव, कला र संस्कृतिको प्रवर्द्धनमा एफएमको भूमिका उल्लेखनीय रहेको बताए।
एफएमका स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक इञ्जिनियर अमरेन्द्र प्रसाद सिंहले सम्पूर्ण अतिथिहरूलाई स्वागत गरे ।
कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ट्राफिक एफएमले सञ्चार क्षेत्रमा भिन्न पहिचान बनाएको भन्दै यसको संरक्षण र सशक्तीकरणको आवश्यकता औंल्याए ।
सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसीले एफएमसँगको सहकार्य सडक सुरक्षाका लागि लाभदायी रहेको उल्लेख गरे ।कार्यक्रममा ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सबै सहयोगी निकायप्रति आभार व्यक्त गर्दै, प्रदान गरिएका सम्मानहरूलाई ट्राफिक सचेतना, सहकार्य र उत्तरदायित्वको सामूहिक पहिचानको रूपमा आत्मसात गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।