मनसुन सुरु भएदेखि सशस्त्र प्रहरी बल नेपालले देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेश स्थापना गरेको छ। काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा यस्ता बेशहरू स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेश प्रदेशमा सप्तरीको भारदह र बर्साईन, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका विभिन्न स्थानहरूमा बेशहरू स्थापना गरिएको छ। यस्तै, बाग्मती प्रदेशमा मकवानपुर, काभ्रे, नुवाकोट, चितवन, दोलखा र रसुवाका जोखिमयुक्त क्षेत्रमा पनि यस्ता बेशहरू खडा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिम हुने सम्भावित क्षेत्रहरूमा समेत मनसुन प्रतिकार्य बेशहरू स्थापना गरिएका छन्।
वर्षाको कारण उत्पन्न हुने सम्भावित विपद् व्यवस्थापन तथा उद्धारमा सहजता होस् भन्ने उद्देश्यले यस्ता बेशहरूमा आवश्यक उद्धार सामग्रीसहितको सुरक्षाकर्मी टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ।सशस्त्र प्रहरी बल नेपालले हालसम्म देशभर १ लाख ६८ हजार ९५६ जना ‘विपद् सूचक’ तयार गरेको छ भने ९ सय ९० जनालाई ‘विपद् स्वयंसेवक’ अनुशिक्षण तालिमसमेत दिएको छ।