४० किलो गाँजा र नगदसहित पाँच जना पक्राउ

काठमाडौंको कोटेश्वरस्थित पाल्पाकोट चोकमा ४० किलो लागुऔषध गाँजा (पोलेन) र नगदसहित पाँच जना पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरूमा धादिङ गजुरी गाउँपालिका–४ का १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, हाल काठमाडौं महाराजगञ्ज बसोबास गर्दै आएका ३६ वर्षीय जीवन प्रजा र कोटेश्वरमै डेरा गरी बस्ने ३८ वर्षीय सुमन चेपाङ रहेका छन्।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सुमन चेपाङको डेरा कोठामा छापा मारेर ४० किलो गाँजा, एक लाख पच्चीस हजार रुपैयाँ नगद र अन्य सामानसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका सबै विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।