रक्सौल कस्टम क्षेत्रमा ह्यान्ड ग्रेनेड भेटिएपछि

भारत–नेपाल सिमानास्थित रक्सौल कस्टम क्षेत्रमा ह्यान्ड ग्रेनेड भेटिएपछि सोमबार बिहान सुरक्षा निकायमा हडकम्प मच्चिएको छ। वीरगञ्ज जोड्ने मैत्री पुल नजिकैको भारतीय कस्टम क्षेत्रमै ग्रेनेड भेटिएपछि क्षेत्रलाई उच्च सतर्कता अपनाएर घेराबन्दी गरिएको छ।

स्थानीय स्रोतका अनुसार मैत्री पुल नजिक खेलिरहेका बालबालिकाको नजर ह्यान्ड ग्रेनेडमा परेपछि उनीहरूले हल्ला मच्चाए। खबर पाउनासाथ सीमा सुरक्षा बल (एसएसबी), भारतीय कस्टम तथा स्थानीय प्रहरी सक्रिय भएर घटनास्थल पुगेका थिए।

एसएसबीका जवानहरूले उक्त क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन्। बम डिस्पोजल टोलीलाई समेत बोलाइएको छ र ग्रेनेडको प्रकृति तथा अवस्था बुझ्ने प्रयास भइरहेको बताइएको छ।सुरक्षा अधिकारीहरूका अनुसार यो ग्रेनेड कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको छ।