नेपालगन्जबाट दिउँसै प्लाष्टिकजन्य कवाड तस्करी

 

बांके ।    नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए ।

आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए ।

तर बांकेकाे मुख्य नाका जमुनाहाबाट दिउँसो नै प्लास्टिक जन्य कवाड सामानको ठूलो तस्करी भैरहेको छ । प्लास्टिक जन्य कवाडी सामानको तस्करीमा संलग्न तस्करहरूले जमुनाहा स्थित सशस्त्र प्रहरी बलकाे प्रस्तावित गुल्मलाई मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेको खुलेको छ । सेटिङ मिलाएको कारण नै रातिको समयमा नभई दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
उक्त प्लास्टिक  जन्य तस्करीकाे काराेबारमा अफाक , फरिउद्दीन र नसिम भन्ने काराेबारीकाे लगानी रहेको समेत कवाडी संकलकहरूले जानकारी दिए ।

उनीहरूकाे लगानी भएको उक्त प्लास्टिक जन्य कवाड सुरक्षाकर्मीहरूलाई मिलाएर भारततर्फ तस्करी गराउने काम भने मुन्ना भनेर चिनिने रसुल अहमद जसगरले गर्दै आएका छन् । कवाडी सामग्री प्रशोधन गर्ने करिब एक दर्जन जति उद्योग नेपालमै स्थापना भएका छन् । सशस्त्र प्रहरी, भन्सार, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी निकायहरूले तस्करी रोक्न कुनै पहल गर्न सकेका छैनन् ।

उनीहरूबाट तस्करी नियन्त्रणमा पर्याप्त सहयोग नहुँदा स्थापना भएका यस्ता प्रशोधन उद्योगहरू बन्द हुने अवस्थामा पुगेको गुनासो उद्योगीहरूले गरेका छन् । उद्योगीले करोडांै रकम लगानी गरेर उद्योग स्थापना गरेको भएपनि कच्चा पदार्थको अभाव झेल्दै आएका छन् । नेपालबाट भने खुल्ला रूपमा उद्योगमा प्रयोग हुने यस्ता कच्चापदार्थ बिना शुल्क भारततिर तस्करी भइरहेको गुनासो गरेपनि कतैबाट पनि सुनुवाई भने हुन सकिरहेको छैन । नेपालबाट चोरी निकासी भएर भारततर्फ गएका यस्ता कच्चापदार्थबाट तयार भएर भित्रिएका गुणस्तरहीन सामान भने लाखौं, करोडौं मूल्य तिरेर खरिद गर्नु परेको छ ।(रास्स)