पर्सा एसपी पाठकको एक महिना

जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी सुदिप पाठकले नेतृत्व सम्हालेपछि जिल्लाभरि सुरक्षा व्यवस्थामा उल्लेखनीय सक्रियता देखिएको छ। २०८२ कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्मको अवधिमा जिल्लामा अपराध नियन्त्रण, फरार प्रतिवादी समात्नेदेखि भन्सार छली रोकथामसम्मका क्षेत्रमा ठोस नतिजा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार यो एक महिनाको अवधिमा लागूऔषध, काठ तस्करी, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा सामुदायिक सचेतना अभियानमा विशेष प्रगति हासिल भएको छ।

यस अवधिमा प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइ गर्दै २७ किलो ४८० ग्राम गाँजा बरामद गरेको छ भने यसमा संलग्न चार जना पक्राउ परेका छन्।

त्यसैगरी अदालतका फैसलाबाट फरार रहेका १८४ जनालाई पक्राउ गरी ६ लाख २ हजार ३१९ रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ भने १८ वर्ष १ महिना कैद कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।

अवैध नदीजन्य उत्खननमा समेत कडाइ गर्दै प्रहरीले बालुवा लोड रहेका पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। वन अपराधमाथि गरिएको कारबाहीमा ६१।५ क्यूफिट सालको काठ बरामद गरिएको छ, जसको अनुमानित मूल्य २ लाख ६६ हजार रुपैयाँ रहेको छ। त्यस्तै, खाद्यान्न, लत्ताकपडालगायत भन्सार छली गरी ल्याइएका सामानसमेत प्रहरीले ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ, जसको मूल्य ३ करोड ७५ लाख ५० हजार ५ सय ५६ रुपैयाँ बराबर छ।

अवैध मदिरा उत्पादन रोकथाम पनि यस अवधिमा प्रहरीको प्राथमिकतामा रह्यो। प्रहरीले ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ। समुदाय–प्रहरी सहकार्यलाई बलियो बनाउँदै प्रहरीले १०३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १० हजार २ सय ३० जनाले प्रत्यक्ष लाभ लिएका छन्। मानवीय उद्धार तथा खोजतलासका क्रममा हराएका ९ जना (२ महिला, ७ बालबालिका) फेला पारेर अभिभावकको जिम्मा लगाइएका छन् भने दुई बालिकाको विशेष उद्दार गरिएको छ।

त्यसैगरी प्रहरीमा एसपीआर १७१० र एलआरपी २ वटा दर्ता भएका छन्।

गएको एक साता मात्र विभिन्न चेकजाँच तथा अपरेसनका क्रममा ५० लाख स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी पर्सा प्रहरीले अनलाइन ठगीमा संलग्न एक सक्रिय गिरोह नै पक्राउ गरेको छ। सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई बैंकहरूमा खाता खोल्न लगाउने र ती खाताहरूमा सामाजिक सञ्जालमार्फत ठगी गरी हालसम्म करिब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी ठूलो परिमाणमा चोरीका गरगहना बरामद भएको छ । प्रहरीका अनुसार ३६ लाख ७० हजार ५१ रुपैया बराबरको चोरीका गरगहना बरामद भएको छ ।

त्यसैगरी प्रहरीले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

पर्सा प्रहरी प्रमुखमा एसपी पाठक आएपछि जिल्लामा सुरक्षा कडा बनेको, अपराध नियन्त्रणमा गति आएको र तस्करी तथा भन्सार छलीमा कडाइ गरिएको स्थानीय तथा सुरक्षा अधिकारीहरूको मूल्यांकन छ।(रास्स)