सोमबार केहीबेर स्थिति​ तनावग्रस्त

जेनजीका अगुवा सुदन गुरुङसहितले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी लिएर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेपछि प्रहरीले जाहेरी बुझ्न नमान्दा सोमबार केहीबेर स्थिति​ तनावग्रस्त भएको बुझिएको छ।भदौ २३ र २४ गतेको घटना अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन भइसकेको र उक्त आयोगले कसलाई कारबाही गर्ने र नगर्ने निर्क्योल गर्ने हुँदा अहिले ओली र लेखक विरुद्ध जारी लिन नमिल्ने जनाउ प्रहरीले दिएपछि गुरुङ आक्रोशित बनेका थिए। उच्च प्रहरी स्रोतका अनुसार गुरुङले ‘यो जाहेरी तपाईँले दर्ता गर्नैपर्छ नत्र हामी देखाइदिन्छौँ’ भनेपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकृतले तत्काल जाहेरी दर्ता गर्न नसकिने बताएपछि गुरुङले धम्कीपूर्ण शैलीमा ‘भोलि देखाइदिन्छौँ’ भनेपछि प्रहरीले सम्झाई बुझाई गर्दै उनीहरूलाई फिर्ता पठाएको थियो।

त्यसलगत्तै परिसर प्रमुख रमेश थापाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीलाई गुरुङको धम्कीपूर्ण शैलीबारे जानकारी गराएका थिए। कार्कीले अहिले जाहेरी दर्ता नगर्न र परिस्थितिको मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्न  एसएसपी थापालाई निर्देशन दिएका थिए।

यही घटनालाई लिएर आज साँझ ६ बजे प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसहित प्रहरीका उच्चपदस्थ गृहमन्त्री ओम प्रकाश अर्याललाई भेट्न पुगेका थिए।