वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुन बढ्दै

वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।

तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।

गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।

अविरल वर्षाका कारण नालामा पानीको सतह बढ्नुका साथै लिक भएको पाइपलाइनमा दूषित पानी मिसिनु नै संक्रमित बढ्नुको कारण हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।