सशस्त्र प्रहरीले धनगढीको एक पसलमा छापा हानेर सवा ३५ लाख मूल्यबराबरको भन्सार छलीको कपडा बरामद गरेको छ। बसपार्कमा रहेको बालाजी फेन्सी पसलमा छापा हानेर ३५ लाख २१ हजार मूल्यको भन्सार छलीका कपडासहित सञ्चालक अंकुश गुप्तालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले जनाएको छ।
गुल्मसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलाली र त्रिनगर भन्सार कार्यालयको टोलीले बालाजी फेन्सी तथा गुप्ताले नै राधा गोविन्द सप्लायर्सका नाममा धनगढी–४, उत्तरबेहडीमा सञ्चालन गरिरहेको गोदाममा छापा हानेको हो।महिला–पुरुषले लगाउने तयारी पोसाक तथा थानको कपडा बरामद गरिएको सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले जानकारी दिए। अवैध रूपमा सामान ल्याएको भनेर गुल्मको विशेष टोलीले पाएको सूचनाका आधारमा उक्त पसलमा छापा हानिएको उनले बताए।