सशस्त्रका १६ जना एसएसपीको सरुवा

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । जसमा एसएसपी प्रमुख रहने ६ जनालाई शिक्षालयको कमान्ड दिइएको छ ।

६ ओटा शिक्षालयमध्ये सबैभन्दा आकर्षक मानिने सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, नवलपरासीमा तीर्थराज पौडेललाई सरुवा गरिएको छ । यसैगरी, राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुर, कैलालीमा नीरकृष्ण अधिकारी, पाथीभरा जवान तालिम शिक्षालय झापामा रमेशकुमार पाण्डे, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँकेमा नरेन्द्र बम, बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा सूर्यबहादुर सेन ओली र दन्तकाली विशेष कार्यतालिम शिक्षालय, सप्तरीमा तेजप्रसाद पोखरेल सरुवा भएका छन् । यसैगरी, सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा असारको दोस्रो साता भएको ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ मा ‘आर्थिक चलखेलकै कारण योग्य र इमानदार अधिकृत सरुवा/बढुवामा पछि पर्ने गरेको र नेतृत्व तहले यसलाई गम्भीररुपमा नलिएको’ आरोप लगाएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण कँडेललाई मानवस्रोत विभागबाट कार्यविभागमा सरुवा गरिएको छ ।