नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी प्रदेशको भ्रमण गरेर मूख्यालय फर्केका थिए । आइजीपी अर्यालले त्यसबेला कोही कसैले गल्ती गरेको प्रमाण भेटेमा जागिरबाट सिधै अवकाश र भ्रष्टचारको गन्ध आए वा तस्करसँगको मिलेमतो गरेमा सिधै मूख्यालय फिर्ता गराइने चेतावनी दिएका थिए ।तर बर्दियाको तस्करी कहिले रोकिने ?
सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश प्रमुख डिआइजी दिपेन्द्र कुंवरले कमान्ड सम्हाले देखि नै लुम्बिनी प्रदेशका नाकाबाट हुने चोरी तस्करीमा व्यापक कमि आएको छ । संगठित र संरक्षित तस्करीमा कमी आएको भए पनि सीमावर्ती क्षेत्रबाट हुने अन्य तस्करीमा भने कमी आएको छैन । तस्करी चलिरहेको नै छ । डिआइजीले मात्रै होइन गणपति मान बहादुर शाहीले पनि चोरी तस्करी नियन्त्रणका लागि बारम्बार निर्देशन दिए पनि बर्दियाका नाकाबाट हुने चोरी तस्करी रोकिएको छैन ।
अहिले बर्दियाको खास गरेर लौकाई , गणेशपुर र लालपुर नाकाबाट व्यापक तस्करी भैरहेको छ । यो नाकाबाट नेपाली र केही भारतीय कारोबारीले तस्करीको लाइन पाएका छन् ।
तस्करीको लाइन पाउनेहरूमा कपडा , हार्डवेयर र मोटरपार्टसको काम गर्ने निरज यादव , किराना , चिनी , सुर्तीजन्य र कोल्डड्रिङ्सको काम गर्ने मुन्ना खांन र चिनी एवं सुर्तीजन्य सामानको काम गर्ने रामसेवक प्रमुख छन् । यसबाहेक भारतीय नागरिकहरू रसुल , जलालु र निजमुद्दीले पनि तस्करीको लाइन पाएका छन् । यी बाहेक अन्य सानातिना काम गर्नेहरू त दर्जनौंको संख्यामा रहेका छन् । कारोबारीहरूसंग सबै सेटिङ मिलाउने काम गणेशपुर लौकाइमा लामो समयदेखि बसेका सशस्त्र प्रहरी बलका घुमुवा बरिष्ठ हवल्दार बिशेश्वर चौधरीले गर्दै आएको कारोबार गर्नेहरू नै बताउँछन् ।
अचम्मको कुरा त के छ भने घुमुवा चौधरी यो पटक समेत गरेर चौथो पटक यहाँ घुमुवा भएर बसेका छन् । एक पटक होइन चार चार पटक एकै ठाउँमा घुमुवा भएर बसेपछि उनको व्यापारी देखि तस्करसँग चिनजान , राम्रो सम्बन्ध नहुने कुरा नै भएन । त्यो सम्बन्ध भए पछि तस्करीको लाइन दिन र आर्थिक लेनदेन गर्न कुनै गार्हाे कुरा पनि भएन । त्यसैले त उनले चारपटक बसेका बेला बासगडी बजारमा तीन तले घर बनाउन पनि सफल भएका छन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गरेको घुमुवा अप्रेसनले पनि छोएन भने , मुख्यालयको अनुगमनले हल्लाउन सकेको देखिएन ।(रास्स)