न्यायाधीश खुशीप्रसाद थारूमाथि दुर्व्यवहार भएको घटनापछि अदालतका सबै सुरक्षाकर्मी फेरिए

पर्सामा रहेको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश खुशीप्रसाद थारूमाथि दुर्व्यवहार भएको घटनापछि अदालतका सबै सुरक्षाकर्मी फेरिएका छन्।

शुक्रबार अदालतमा रहेका सबै सुरक्षाकर्मी र सबै न्यायाधीशका सुरक्षाकर्मी फेरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।

‘हिजोको घटनापछि हामीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने उद्देश्यले पिएसओसहित अदालतका सुरक्षाकर्मी फेरेका छौं,’ उनले भने।

बिहीबार न्यायाधीश थारूमाथि इजलासमा बसिरहँदा तीन जना व्यक्तिले प्रवेश गरी मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका कार्यकर्ता हुन्।