शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशको मध्य र पूर्वी भूभागमा वर्षा गराएको प्रणाली नेपालबाट बाहिरिइसकेको छ।
बंगालको खाडी हुँदै आएको न्यूनचापीय (पानी पार्ने) प्रणाली आइतबार अपराह्नबाटै नेपालबाट बाहिरिइसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले भारतका केही स्थानमा पश्चिमी वायु सक्रिय रहेको बताएको छ। भूमध्य सागर हुँदै आउने पश्चिमी न्यून चापीय प्रणालीले भारतका केही स्थानमा राम्रै वर्षा गराउने देखिएको छ। त्यसो त नेपालमा मनसुन यामबाहेक सबै महिना पश्चिमी वायुकै प्रभाव रहन्छ।
अहिले आइरहेको पश्चिमी प्रणालीले नेपालको पश्चिमी भूभागमा समेत वर्षा गराउने सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले बताए।