रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।
आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका हुन्।
उनले आजको चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘हामी किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको सुरू गर्न प्रस्ताव गर्छौं,’ क्रेमलिनबाट पुटिनले भने,’ किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि प्रस्ताव गर्छौं।’
उनले त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्किका राष्ट्रपति तयिप एर्दोगानलाई भनेको पनि बताएका छन्। एर्दोगान रूस-युक्रेन युद्धविरामको पहलका लागि तयार भएको जबाफ एर्दोगानले दिएको पुटिनले बताएका छन्।