(नेपाल क्राईम)
नेपालगञ्जस्थित बिपीको सालिकमा मोसो दलेको भन्ने कुरा सही नभएको प्रहरीले बताएको छ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले प्रहरीले आगो निभाउने क्रममा उडेर गई कपडाको टुक्रा सालिकमा टाँसिएको विषयलाई लिएर मोसो दलेको भन्नु गलत भएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवरशम्शेर राणाको गृह नगरमा शनिबार बेलुकी राप्रपाका कार्यकर्ताले राँके जुलुस निकालेका थिए। राँके जुलुस निकालेका उनीहरूले बालेको आगो निभाउन प्रहरीले भिजेका बोरा प्रयोग गरेको र तिनै उडेर गई सालिकमा टाँसिएको डिएसपी पातलीले बताए।
‘बिपीको सालिकमा मोसो दलेको वा तोडफोडको प्रयास भएको भन्ने कुरा सही होइन,’ डिएसपी पातलीले भने, ‘हिजो साँझ राप्रपाका कार्यकर्ताले त्यहाँ राँके जुलुस निकालेका थिए , त्यो निभाउने क्रममा एउटा कपडाको टुक्रा सालिकमा टाँसिन पुगेको मात्रै हो, अन्यथा अरू केही होइन।’ यही विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बिपीको सालिकमा मोसो दल्ने र तोडफोड गर्ने दृष्टता गरेको आरोप लगाएका छन्। एमाले महासचिव पोख्रेलले सामाजिक सञ्जालमा लेखेको कुरामा सत्यता नरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। (रास्स)