गोदामबाटै चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एसपीसहित तीन अधिकृत छानबिनमा तानिएका छन् । रौतहटस्थित ११ नम्बर गणका एसपी सन्तोष बस्नेतसहित डिएसपीद्वय अमर लामा र राजेन्द्र बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको हो ।
करिब सात सय केजी तस्करीको चिनी रहेको गोदाममा छापा हानेर उनीहरूले १०६ बोरा मात्र भन्सार बुझाएको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको हो । प्रारम्भिक छानबिनमा चिनी गायब बनाएको आधार देखिएपछि जिल्लाका एसपी नै तानिएका हुन् ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले रौतहटमा चिनी गायब बनाइएको आशंकामा केही अधिकारीमाथि छानबिन चलिरहेको बताए । डिएसपी लामा ११ नम्बर गण तथा डिएसपी बस्नेत सशस्त्र प्रहरी बेस सन्तपुरमा कार्यरत थिए । गणबाट केही दिनका लागि सन्तपुर खटिएकै भोलिपल्ट डिएसपी लामाले छापा हान्ने क्रममा बदमासी गरेका हुन् । छानबिनको केन्द्रमा रहेका डिएसपी लामाले इन्स्पेक्टर हुँदादेखि नै सोही क्षेत्रमा पोस्टिङ मिलाउँदै आएका छन् । इन्स्पेक्टर हुँदा रौतहटकै एक बिओपीमा बसेका थिए । यो घटनामा तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीमाथि समेत सोधपुछ भइरहेको छ ।
गत २९ साउनमा डिएसपी लामा र बस्नेत नेतृत्वको टोलीले चन्द्रपुरस्थित एक गोदाममा छापा हानेको थियो । दुईवटा ट्रकमा चिनी लोड गरिएकोमा एउटा ठुलो ट्रक भने गायब बनाइएको स्रोत बताउँछ । सोही घटनामा एसपी र दुई डिएसपी कारबाहीमा तानिएका हुन् ।(रास्स)