काठमाडौं परिसरको अनुगमन

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन) २०८२’ अन्तर्गत जिल्ला प्रहरी परिसर, काठमाडौंमा केन्द्रीय मूल्याङ्कन समितिबाट अनुगमन तथा निरीक्षण भएको छ। समितिको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोज कुमार केसीले गरेका थिए ।

निरीक्षण क्रममा परिसरका भौतिक पूर्वाधार, अपराध नियन्त्रण तथा अनुसन्धान रणनीति, श्रोत–साधनको उपयोग, प्राविधिक तथा सूचना–प्रविधिको प्रयोग, मानव स्रोत व्यवस्थापन, प्रशासनिक दक्षता र आन्तरिक नियन्त्रण प्रणालीबारे प्रत्यक्ष जानकारी लिइएको थियो। साथै, विपद् व्यवस्थापन, अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी, जनचेतनामूलक कार्यक्रम र पीडितमैत्री सेवाबारे पनि मूल्याङ्कन गरिएको थियो।

अनुगमनपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले वर्तमान शान्ति–सुरक्षाको अवस्था, अपराध अनुसन्धानका प्रवृति, सञ्चालनमा रहेका कार्यक्रम, विगतका उपलब्धि र आगामी योजनाबारे प्रस्तुत गरेका थिए ।