चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

 

बाँकेको राप्तीसोनारी गाउँपालिका–३, सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।

आइतबार (भदौ २९))देखि हराइरहेकी राप्तीसोनारी–३ की ४५ वर्षीया लक्ष्मी थारू जनमुखी सामुदायिक वनको पुरानो पानीट्यांकीनजिकै सोमबार (भदौ ३०) मृत फेला परेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताले जानकारी दिए ।

थारूको शव आसपासमा चितुवाको पाइला देखिएको थियो । त्यसपछि क्यामेरा जडान गरी हेर्दा एउटा भाले चितुवा हिँड्डुल गरेको देखिएको उनले बताए ।

उक्त घटनापछि स्थानीय आतंकित भएकाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागिएको उनले जानकारी दिए । मृतक थारूको शव पोस्टमार्टमपश्चात् वडा कार्यालयको सिफारिसमा परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने डिभिजन वन प्रमुख गुप्ताले बताए ।