राप्ती नदी हुँदै तस्करी

नेपाल क्राईम
नेपाल क्राईम
शुक्रबार, साउन १६, २०८२
राप्ती नदी हुँदै तस्करी

काठमाडौं — बाँकेको नरैनापुर गाउँपालिका–५ र ६ मा पर्ने भोज भगवानपुर सीमा क्षेत्र हुँदै दैनिक लाखौं रुपैयाँ बराबरको अवैध सामग्रीहरू नेपाल भित्रिने गरेको पाइएको छ।

भारतको उत्तर प्रदेशस्थित श्रीवस्ती जिल्लाको जमुनहा बजारबाट चिनी, दाल, तेल, सिगरेट, मदिरा, लत्ताकपडा, सौन्दर्य प्रसाधनलगायत सामग्रीहरू राप्ती नदी हुँदै भोज भगवानपुर र गंगापुर क्षेत्रबाट नेपाल ल्याइन्छ।

स्थानीय स्रोतका अनुसार बाँकेका सशस्त्र प्रहरी गण–३० बागेश्वरीका प्रमुख एसपी शोभाकान्त खनालले आफ्ना घुमुवा कर्मचारीहरूलाई सीमामा खटाएर तस्करीको ‘व्यवस्थापन’ गरिरहेका छन्। तस्करी नियन्त्रणका लागि खटिएका अन्य सुरक्षाकर्मीहरूले रोक्न खोज्दा, एसपीका निर्देशनमा खटिएका असईहरूले हस्तक्षेप गर्दै छुटाइदिने गरेका छन्।

गंगापुर बीओपीको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीको नेतृत्वमा रहेको भए पनि, त्यहाँ तस्करी रोक्न कुनै प्रभावकारी कदम चालिएको छैन। स्थानीयवासीहरू ।

सशस्त्र प्रहरी बलको गंगापुर बीओपी अन्तर्गत रहेको हुलाकी राजमार्ग नजिकको पोस्टबाट पनि प्रहरी हटाइएको बताइएको छ। स्थानीयवासीहरूको दाबी अनुसार यो एसपी खनालकै निर्देशनमा गरिएको हो।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै राति र दिउँसो दुवै समयमा राप्ती नदीको बाटो प्रयोग गरेर तस्करी गर्नेहरू प्रहरीकै संरक्षणमा रहेको आरोप लाग्दै आएको छ।

खुला सीमाका कारण भारततर्फ कडाइ भइरहँदा पनि नेपालको सुरक्षा संयन्त्र सुस्त देखिएको छ। भारतीय सुरक्षा निकाय (एसएसबी) ले नेपाली र भारतीय नागरिकहरूको परिचयपत्र अनिवार्य गरेपनि नेपालतर्फ यस्तो कडाइ देखिएको छैन।

स्थानीय स्रोतका अनुसार एसपी खनालमाथि सशस्त्र प्रहरी मुख्यालयमै उजुरी परेको थियो। तर, स्याङजाका केही कांग्रेस नेताहरूको सिफारिस र गृहमन्त्रीको ‘सहयोग’ मा उनी त्यहीँ पदमा टिकिरहेका छन्। संगठनभित्र बढुवा र सरुवामा चलखेल गर्ने आरोप लागेका खनालले अघिल्लो कार्यकालमा लेखा शाखामा लामो समय बसेर अकुत सम्पत्ति आर्जन गरेको बताइन्छ।

संगठनभित्र विश्वास गुमाउँदै गएका खनाल अहिले पनि आइजीपीका निर्देशन अवज्ञा गर्दै तस्करीका गतिविधिमा सक्रिय रहेको स्थानीयहरू आरोप लगाउँछन्।अब जिम्मेवार निकायले छानबिन र कारबाहीमा कठोरता अपनाउने कि, यस्तै मिलेमतोमा सीमाबाट मुलुकका सम्पत्ति बग्न दिने — प्रश्न उठ्न थालेको छ।(रास्स)

यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्। कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन् वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।
प्रतिक्रिया दिनुहोस !