प्रहरी निरीक्षकसहित तीनजना प्रहरी कारबाहीमा

मधेश प्रदेशमा तस्करीको स्वर्णभूमि बन्दै गएपछि अहिले प्रहरी निरीक्षकसहित तीनजना प्रहरी कारबाहीमा परेका छन् । महोत्तरीको गौशाला बजारका व्यापारीहरूबाट अवैध रूपमा मासिक रकम असुली गरेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी इन्सपेक्टर उत्तम सिंह भण्डारीसहित तीनजना प्रहरीलाई कारबाहीका लागि जनकपुरधाम तानिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको निर्देशनमा निरीक्षक भण्डारीसँगै प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई समेत नेपाल प्रहरीको जनकपुरधामस्थित गणमा बोलाइएको हो ।

 

उनीहरूमाथि चेक अनादर सम्बन्धी मुद्दाका आरोपितहरूसँग आर्थिक लाभ लिएको, बिचौलियामार्फत प्रहरी परिसरमै नियमित रकम संकलन गरेको लगायतका गम्भीर आरोप लागेको छ । नेपालको मुख्य प्रवेशद्वारको रूपमा चिनिने पर्सा जिल्लाका नाका तस्करहरूको स्वर्णद्वार बनेका छन् । हरेक दिन करोडौँको तस्करी पर्सा जिल्लाका नाकाहरूबाट हुने गरेको छ । बिना कुनै रोकतोक निर्बाध भइरहेको तस्करीले नेपालको प्रवेशद्वारलाई तस्करहरूको लागि सबैभन्दा ठुलो कमाइ गर्ने द्वार बनेको देखिएको छ ।

रौतहटको चन्द्रनिगाहपुर प्रहरीले वीरगंजबाट सर्लाहीतर्फ जाँदै गरेको ना ७ ख ६७६७ नम्बरको मिनिट्रकलाई नियन्त्रणमा लिएर पनि छाडिएको छ । पर्साबाट तस्करी भएर कपडा, चिनी, खाद्यान्न, तेल तथा स्पेयर पार्टस्सहित करिब ४५ लाख ५६ हजारभन्दा बढीको मालसामान नियन्त्रणमा लिएर चन्द्रनिगाहपुर प्रहरीले छाडेको थियो । यसैगरी, पर्साबाटै बा ५ ख ३६० नम्बरको ट्रकमा टायर, किसमिस, किराना तथा स्पेयर पार्टस् लगायतको सामान इटहरीतर्फ जाँदै गरेको अवस्थामा सर्लाहीमा बागमती प्रहरीले नियन्त्रणमा लिएर छाडेको स्रोतको दावी छ ।

पर्सा जिल्लामा बोर्डर तस्करी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गत ५ गुल्म र १७ ओटा बेस बिओपीहरू रहेका छन् । बोर्डरमा नेपाल प्रहरीको युनिट पनि ठाउँ ठाउँमा रहेका छन् तर पर्साको विभिन्न नाकाबाट तस्करी भएको सामान जिल्लाको विभिन्न भागमा पुगेर पक्राउ परिरहनुले पर्सामा सशस्त्र र जनपथ प्रहरीको मिलोमतोमै तस्करी भइरहेको स्रोतको दावी छ ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखमपुर, वीरगंज, अलौ र लहावर थकरीको मातहतमा १७ ओटा बेस बिओपीहरू रहेका छन् । सबैको मिलोमतोमा पर्सामा तस्करी भइरहेको देखिएको छ । मधेश प्रदेशमा सबैभन्दा बढी पर्साको भिस्वा नाकाबाट नेपाली तथा चाइनिज उत्पादनका सामानहरूको तस्करी भइरहेको छ । नेपालबाट स्याउ, चाइनिज स्टील, इलेक्टिक चुरोट तथा कबाड तस्करी भइरहेको छ । यसैगरी भारतबाट धान, गहुँ, चामल, कपडा, स्पेयर पार्टस्को व्यापक तस्करी भइरहेको छ ।

चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सेटिङमा तस्करी भइरहेको आरोप लाग्दै आएको छ । नेपाल प्रहरीका सई संजीव तामाङलाई केन्द्रले नै भिस्वा प्रहरी चौकीजस्तो तस्करीको मुख्य क्षेत्रमा इन्चार्ज तोकेर पठाएपछि पर्साको तस्करीको सेटिङ निकै माथिसम्म हुने आशंका उब्जाएको स्थानीयको भनाइ छ । सई तामाङ करिब दुई महिना पहिले भिस्वा प्रहरी चौकीको कमान्ड सम्हाल्न आइपुगेको छन् ।

तामाङले जस्तै अमरपटीमा सई सुनिल पनेरु, सिर्सिया ड्राइपोर्टमा वरिष्ठ सई गगन शाह, छपकैयामा वरिष्ठ सई केदार तिमल्सिना, इनर्वामा सई रोशन थापा, परवानीपुरमा सई आदर्श खतिवडा, नगवामा सई अजय रामलाई प्रहरी प्रधान कार्यालयबाट नै काज सरुवा गराई इन्चार्ज ओगटेर बसेका छन् । जसमध्ये पनेरु १८ महिनादेखि पर्सामा छन । उनी ड्राइपोर्ट र जिल्ला प्रहरीको कर्मचार प्रशासन शाखा हुँदै अहिले अमरपटी नाकाको कमान सम्हालेका छन् ।

परवानीपुरमा कार्यरत सई आदर्श खतिवडा करिब पाँच वर्षदेखि पर्सामा रहेका छन् । उनको सरुवा अन्यत्र भए पनि पावर र पहुँचको भरमा पर्सा जिल्लाका सबै आकर्षक ठाउँमा कमान्ड गरिसकेको स्थानीयको भनाइ छ । पर्साको अमरपटी नाकाबाट कुखुराको चल्ला, तयारी कुखुरा, धान, गहुँ, मसुरो, कपडा, काजु, रजनीगन्धा, स्पेयर पार्टस्, किरानासहित चार दर्जनभन्दा बढी तस्करहरूका सामान निर्वाध तस्करी भइरहेको छ । अमरपटी नाकाबाट भैँसी, पाडा र गाईको पनि व्यापक तस्करी हुने गरेको छ ।(रास्स)