(नेपाल क्राईम)
सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङछोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरुद्धको नारा सहितको ब्यानर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिइन् ।
त्यस अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी नायब महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एन्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।